भारतले दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार – Nepalboli

भारतले दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

   १९ असार २०७९, आईतवार  

भारत सरकारले अनुदान सहायता स्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरूमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।

एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।

श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए।

यो सहयोग भारत स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा प्रदान गरिएको हो।

भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै