भारतीय राजदूत श्रीवास्तवद्धारा राष्ट्रपति समकक्ष ओहोदाको प्रमाणपत्र पेश, आजै प्रधानमन्त्रीसंग पनि भेटे

नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तवले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन । शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन ।
आफनो ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको काठमाडौ स्थित भारतीय दुतावासले जनाएको छ ।
प्रधानमन्त्रीसंगको भेटमा राजदुत श्रीवास्तवले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए । राजदूत श्रीवास्तवले हालै भएको सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण र माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरेका थिए । दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि त्यस अवसरमा उनले व्यक्त गरे ।
श्रीवास्तव नेपालका लागि भारतका २६ औं राजदूत हुन् । पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूतका रुपमा नियुक्त भएका हुन् ।