नयाँ प्रविधि पत्ता लगाएका नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय पुरस्कार – Nepalboli

नयाँ प्रविधि पत्ता लगाएका नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय पुरस्कार

   १६ असार २०७९, बिहीबार  

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स, एम्समा काम गर्ने एक नेपाली चिकित्सकले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन्। एम्समा कार्यरत नेपाली चिकित्सक माधवप्रसाद यादवले पुरस्कार पाएका हुन्। वीरगञ्जका डा यादवले न्युक्लियर मेडिसिनमा गरेको खोजका लागि द इन्टरनेसनल सेन्टर्स फर प्रेसिजन अनकोलजी, आईसीपीओ फाउन्डेसनले सम्मानसहित पुरस्कृत गरेको हो। जर्मनीमा आयोजित समारोहमा डा यादव पाँच हजार युरोसहित पुरस्कृत भएका हुन्।

एम्समा रहेर डा यादवले रेडियो न्युक्लियाइड एक्टिनियम–२२५ प्रविधिबाट क्यान्सरको उपचारमा गहिरो अनुसन्धान गरेको र त्यसमा सफलता प्राप्त गरेका कारण उनलाई सम्मान गरिएको हो। डा यादव एम्सको न्यूक्लियर मेडिसिन विभागमा ‘साइन्टिस्ट–सी’ पदमा छन्।

डा यादवले सयौँ प्रतिस्पर्धीहरुलाई पन्छाउँदै उक्त पुरस्कार हात पारेका हुन्। पुरस्कारका लागि ४० देशका चिकित्सक र अनुसन्धकर्ताहरुले दाबी गरे पनि छनोट कमिटीले डा यादवलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

मौरिटस डब्ल्यू ग्रिलिंग्सले सन् १९९३ मा पत्ता लगाएको रेडियो न्युक्लियाइडबाट क्यान्सरको उपचार गर्न सकिने प्रविधिमाथि डा यादवले प्रयोगात्मक परीक्षणसहित अनुसन्धान गरेका थिए। सन् २०१६ देखि काम थालेका डा यादवले उक्त प्रविधिबाट एम्समा ५०० बढी बिरामीको सफल उपचार गरिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै