अमेरिकाको टेक्ससमा ट्रकभित्र ४६ शव फेला, आप्रवासी हुन सक्ने आशंका
अमेरिका र मेक्सिको सीमा नजिकै एक ट्रकभित्र ४६ शव फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबैजना आप्रवासी हुन सक्ने सीएनएनले जनाएको छ । सान आन्तनियो सहरको बाहिरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेको लरीमा ती शव फेला परेका थिए । छिमेकी मुलुक मेक्सिकोबाट गैरकानुनीरुपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ ।
सो क्षेत्रमा अत्यधिक गर्मी रहेको र लरीभित्र उनीहरुको गर्मीकै कारण ज्यान गएको पनि हुन सक्ने अनुमान गरिएको छ । मृत्यु भएका आप्रवासी कुन देशका हुन भन्ने अझै पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यसअघि पनि मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका केही आप्रवासीको मृत्यु भएको थियो ।
सन् २०१७ मा एक ट्रकभित्र १० जनाको शव फेला परेको थियो भने सन् २००३ मा १९ जना मृत अवस्थामा फेला परेका थिए ।