फोहोर व्यवस्थापन अध्ययन गर्न भारतको इन्दोरको विज्ञ समूह काठमाडौंमा – Nepalboli

फोहोर व्यवस्थापन अध्ययन गर्न भारतको इन्दोरको विज्ञ समूह काठमाडौंमा

   २०८० माघ ४, बिहीबार  

घरेलु फोहोरको दिगो समाधान गर्न काठमाडौं महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ । यसका लागि भारत इन्दोरबाट विज्ञ समूह काठमाडौं आएको छ । भारतको सफा सहरका रूपमा परिचित इन्दोरले आठ वर्ष अवधिमा घरेलु फोहोर व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै महानगरले इन्दोरको काठमाडौंसँगको सान्दर्भिकता अध्ययन गराउन खोजेको हो ।

‘इन्दोरको विज्ञ टोली एक महिना काठमाडौंमै बसेर फोहोर उत्पादन, प्रकृति, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापनलाई विभिन्न कोणबाट अध्ययन गरेर ढाँचा सिफारिस गर्नेछन्,’ महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन्, ‘यसको महत्वपूर्ण पक्ष भनेको व्यक्ति तथा समुदायको सहभागिता हो । अध्ययनमा शहरी आचरणलगायत व्यवहारका पक्षमा पनि अध्ययन हुनेछ ।’

अध्ययनका लागि आएको इन्दोर नगरको घरेलु फोहोर व्यवस्थापन विभाग (सोलिड वेस्ट म्यानेजमेन्ट डिपार्टमेन्ट) का सूचना, शिक्षा र सञ्चार विज्ञ (आईईसी एक्सपर्ट) अमित चौहानले सफाइका लागि सहरवासीको सचेतना र सहभागिता आवश्यक हुने बताए । ‘शहरको सचेतनाले फोहोर वर्गीकरणमा सघाउ पुग्छ । स्रोतमा फोहोर वर्गीकरण भयो भने व्यवस्थापनको काम सहज हुन्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले हाल फोहोर संकलन, ढुवानी र ल्यान्डफिल साइटमा अन्तिम व्यवस्थापनको काम गरिरहेको छ । वातावरण व्यवस्थापन विभागका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडामा महानगरपालिकाले मात्र फोहोर संकलन गर्छ ।

यस्तै राजमार्ग, पार्क, मठमन्दिर तथा सार्वजनिक स्थलको सफाइ महानगरपालिकाका कर्मचारीले गर्ने गरेका छन् ।

दैनिक करिब २ सय ४० टन फोहोर महानगरपालिकाले ल्यान्डफिल साइट पुर्‍याउने गरेको छ । अन्य वडामा निजी क्षेत्रले फोहोर संकलन गरेर करिब ५ सय टन फोहोर साइटमा पुर्‍याउँछन् । काठमाडौं महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहले ल्यान्डफिल साइटमा दैनिक १ हजार ६ सय टन फोहोर लैजाने गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै