रास्वपाको केन्द्रीय समितिद्धारा पैदल यात्रा गर्ने सहित पाँच निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले २७ विकास आयोजनाको पैदल यात्रा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा अबेर रातिसम्म बसेको केन्द्रीय समितिको बैठकले अलपत्र रहेका विकास आयोजनामा पैदल यात्रा गर्ने कार्यक्रमको ढाँचा र मिति तय गर्न ६ सदस्यीय कार्यदल बनाएको छ। जसमा श्रीराम न्यौपाने, विपिनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटवाल र खुस्बुसरकार श्रेष्ठ रहेका छन्।
रास्वपाले दबाब यात्रालाई ‘मिसन—८०’ बताउँदै पुस ९, १० र ११ गते नारायणगढ—बुटवल सडक खण्डमा पैदल हिँडेको थियो। अब हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गअन्तर्गतका केही हिस्सादेखि कालिगण्डकी करिडोर, अलपत्र अवस्थामा रहेको कमला पुल, काठमाडौं तिनकुनेको बागमती पुल, ग्वार्को फ्लाइओभरदेखि धरहरासम्म निर्माण छिटो सक्न दबाब यात्रा गर्ने भएको छ।
त्यस्तै बुधबार बसेको केन्द्रीय कमिटी बैठकले प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ।
बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको पार्टीका महामन्त्री मुकुल ढकालले बताएको छन्।
केन्द्रीय विभागहरूलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको पनि ढकालले बताए । रास्वपाको अर्थ नीति विभागले सहकारी र लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे सुभाव दिने भएको छ। बुधबारको बैठकका प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरू उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले जानकारी गराएको ढकालले बताए । समितिलाई माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरून्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको पनि उनले बताए।