समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ – राष्ट्रपति पौडेल – Nepalboli

समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ – राष्ट्रपति पौडेल

   २०८० माघ १, सोमबार  

‘नेपाली जनता पछाडि फर्कन चाहदैनन्’

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन आग्रह गर्नुभएको छ । माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौं भन्ने प्रण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–‘यो संविधानले उत्पिडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । यो वेजोड अधिकारी दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं ।’

उहाँले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो –‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी संघीय लोकातान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सवै मिलेर आजको दिनमा प्रण गरौँ ।’

उहाँले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनीधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै