रास्वपाका सांसदहरुले अलपत्र आयोजनाको पैदलयात्रा गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अलपत्र विकास आयोजनाको पैदलयात्रा गरेर सरकारलाई दबाब दिने भएको छ। पार्टीको माघ ३ गते बस्ने केन्द्रीय समितिको बैठकले यसको विस्तृत कार्ययोजना पारित गर्ने पार्टी उपसभापति तथा सांसद डिपी अर्याल (डोलप्रसाद) ले जानकारी दिए।
उनका अनुसार लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा छन् । ‘त्यसका लागि सांसदकै नेतृत्वमा रहेका पूर्वाधार विभागले काम गरिरहेको छ।
उहाँहरूको अध्ययनले कुन–कुन आयोजना देखाउँछन्, त्यहाँ हामीले पैदलयात्रामार्फत् दबाब सिर्जना गर्नेछौं। राष्ट्रिय गौरबका आयोजना पनि हुन सक्छन्, अरू साना–ठूला र राष्ट्रिय महत्त्वका आयोजना पनि पर्न सक्छन्,’ उनले भने।
रास्वपाले यसअघि पुस ९, १० र ११ गते नारायणघाट–बुटवल खण्डअन्तर्गत ११३ किलोमिटर सडकमा पैदलयात्रा गरेको थियो। ठेकेदारले म्याद अवधिभर निर्माण पूरा नगरेपछि त्यस क्षेत्रका नागरिकले पाउनुसम्म सास्ती पाएका थिए। त्यस क्षेत्र भएर यात्रा गर्ने नागरिकले गुनासो गरेपछि निर्माण पूरा गर्न दबाब दिने ध्येयले पैदलयात्रा गरिएको रास्वपाले बताएको थियो।
लामो समयसम्म अलपत्र रहेका, नबनेका आयोजनाहरूको, एउटा होइन, २१ जना सांसदले ती आयोजनाहरूको पैदल यात्रा गर्नेछौं,’ उनले भने, ‘२१ सांसदको नेतृत्वमा पैदलयात्रा गरेर यसको ज्ञापनपत्र होइन, समाधानपत्र सरकारलाई दिनेछौं ।