दैनिक पाँच करोड लिटर मेलम्चीको पानी सोमबारदेखि काठमाडौमा वितरण हुदै – Nepalboli

दैनिक पाँच करोड लिटर मेलम्चीको पानी सोमबारदेखि काठमाडौमा वितरण हुदै

   २०८० पुष २९, आईतवार  

मेलम्चीको पानी सोमवार देखि काठमाडौमा पुन वितरण हुने जनाइृएको छ । यस अघि तिन पटक काठमाडौमा मेलम्चीको पानै वितरण भएर अवरुद्ध भएको थियो । सोमवार देखि चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले प्रधानमन्त्री ‘प्रचण्ड’ बाट सोमवार शुभारम्भ भएसँगै पानी उपत्यकावासीको धारामा पुग्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको छ । पानी सुन्दरीजल आइसकेको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौँमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिनेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रक्राशकुमार राईले पानी पुनः वितरण शुभारम्भ भएको दिन केयुकेएललाई पाँच करोड लिटर पानी प्राप्त हुने बताउँदै पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने जानकारी दिनुभयो । पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाउँदै क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिनेछ ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ साल चैतमा पहिलो पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिए पनि बाढीपहिरोका कारण सो आयोजना पटक पटक बन्द हुँदै आएको छ तर त्यसले निरन्तरता पाउन सकेन । अहिले पनि अस्थायी रूपमा नै मेलम्चीको पानी वितरण गर्न लागिएको हो ।

विसं २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सकिएको थियो तर त्यसपछि २०७८ असार १ र साउन १५ मा मेलम्ची खोलामा आएकोे भीषण बाढीपहिरोले आयोजनाको मुहान र हेडवर्क्समा ठुलो क्षति पुयाएको थियो ।

त्यसपछि बन्द रहेको मेलम्चीको पानी वितरण २०७९ वैशाख ११ देखि अस्थायी रूपमा सुरु गरिएको थियो । त्यसपछि बाढीपहिरोबाट क्षति हुन सक्ने भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी वितरण पुनः बन्द गरिएको थियो । त्यसपछि २०७९ मङ्सिर २३ गते मेलम्चीको पानी वितरण पुनः काठमाडौँमा सुरु गरिएको थियो । यो वर्ष (२०८०) गत साउन २७ र २८ गते आएको बाढीले आयोजनाको हेडवर्क्समा क्षति पुयाएपछि पानी वितरण बन्द छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै