सवा करोड रुपैयाँ अवैध आम्दानी गरेको भन्दै वन अधिकृतमाथि मुद्दा दायर – Nepalboli

सवा करोड रुपैयाँ अवैध आम्दानी गरेको भन्दै वन अधिकृतमाथि मुद्दा दायर

   २०८० पुष २३, सोमबार  

एक डिभिजन वन अधिकृतमाथि जागिरे अवधिमा जोडेको रकम अवैध रहेको भन्दै मुद्दा दर्ता भएको छ । जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालामाथि यस्तो मुद्दा परेको हो । उनले जागिरे अवधिमा जोडेको एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ अवैध भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनी २०४६ जेठ २ गते स्थायी सेवाको नियुक्ति लिएका थिए । २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरण केलाउँदा एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ बढी देखिएको हो ।

उनको सम्पत्ति विवरणको विश्लेषण गर्दा र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिन्छ ।

सम्पत्ति स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको र सार्वजनिक पद धारण गरेका कोइरालाले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० (१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको भन्दै आयोगले उनीविरुद्ध एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रूपैँया पचपन्न पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै