काठमाडौँ-तराई द्रुतमार्गको हालत : ठेक्का समय ४ बर्ष, ६ बर्षमा २९ प्रतिशत काम
देशमा विकास निर्माणको चित्र हेर्न राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेश द्रुतमार्गको कार्यप्रगति विवरण हेरे पुुग्छ । ४ बर्षमा काम सक्ने गरि ०७४ मा नेपाली सेनाले जिम्मा लिएको यो आयोजना निर्माणको काम ६ बर्ष वितिरहदा २९ दशमलव १४ प्रतिशत काम मात्र भएको छ ।
काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको मोविलाइजेसन सहित वित्तीय प्रगति भने २९.३२ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
हालसम्म निर्माणाधीन तीन वटा सुरूङ्गमार्गहरूको जम्मा लम्बाइ ६४१५ किलोमिटरमध्ये ३०५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । अर्थात् ४७.५५ प्रतिशत सुरुङ खन्ने कार्य सम्पन्न भएको छ ।
आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरूमध्ये प्याकेज नं १ देखि ७ सम्मका ६२ वटा पुल निर्माणाधीन अवस्थामा छ । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका ६२ वटा पुलहरूको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरूमध्ये १ हजार १ सय २० वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म ३ वटा पुलको सुपरस्ट्रक्चरको कार्य समेत सम्पन्न भएको छ ।
आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी छ । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेना ले जानकारी दिएका छन ।
२०७४ साउनमा चार वर्षभित्र काम सक्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पुरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिएपनि अहिले लागत बढेर २ खर्ब १३ अर्ब पुगेको छ । आयोजनाको भौतिक प्रगति भने २९ प्रतिशतमा सीमित छ ।
चीनका ६ वटा फरक फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।