सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चार बुँदे सहमति – Nepalboli

सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चार बुँदे सहमति

   २०८० पुष १६, सोमबार  

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच छलफलपछि चार बुँदे सहमति भएको हो। गत शुक्रबार ललितपुर महानगरपालिका ८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन्।

मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेको थियो। त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो।  सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ। दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको हो।  शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै