विद्युत् विकास विभागद्धारा लाइसेन्स लिएर काम नगरेका भन्दै ५५ आयोजना माथी निगरानी – Nepalboli

विद्युत् विकास विभागद्धारा लाइसेन्स लिएर काम नगरेका भन्दै ५५ आयोजना माथी निगरानी

   २०८० पुष ११, बुधबार  

विद्युत् विकास विभागले विद्युत् उत्पादन अनुमति जारी भएको लामो समयसम्म पनि भौतिक प्रगति अगाडि नबढेका जलविद्युत् आयोजनाको समीक्षा सुरु गरेको छ । १८ मंसिरमा कुल ५५ वटा जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूलाई पत्र लेख्दै विभागले निश्चित मिति दिएर आफ्नो आयोजनाको भौतिक तथा वित्तीय प्रगति समेटिएको लिखित प्रस्तुतीकरण गर्न समय दिएको हो । यो क्रम विभागले १७ पुससम्म जारी राख्ने भएको छ । विभागले निगरानी राख्दै पत्र काटेका आयोजनाहरुका नाम भन्ने सार्वजनिक गरेका छैन ।

विभागका अनुसार उत्पादन अनुमति पत्र लिएर पनि लामो समयदेखि कार्यप्रगति देखाउन नसकेका यी आयोजनामा विभागले निगरानी थालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले गत ५ पुसमा आफ्नै कार्यालयमा मन्त्रालयको समीक्षा गर्दै झोलामा खोलाको स्थिति अन्त्य गर्न निर्देशन दिएका थिए ।

सरकारको नीति अनुसार नै विभागले लामो समयदेखि भौतिक प्रगति देखाउन नसकेका आयोजनाको लिखित प्रस्तुतीकरण मागेको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ले लाइसेन्स लिने, होल्ड गरेर राख्ने र काम नगर्ने प्रवृत्ति सबैभन्दा खराब रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै