सुन तस्करी छानविन समितिले ३ महिनाको सीसीटिभी फुटेज माग्दा २१ दिनको मात्र पाए – Nepalboli

सुन तस्करी छानविन समितिले ३ महिनाको सीसीटिभी फुटेज माग्दा २१ दिनको मात्र पाए

   २०८० पुष ८, आईतवार  

मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि छानबिन गर्न बनेको समितिले सीसीटीभ फुटेज नै नपाएको खुलासा गरेका छन । सुन बरामद भएपछि छानबिन गर्न सरकारले गठन गरेको समितिले पछिल्लो तीन महिनाको फुटेज माग्दा २१ दिनको मात्रै सीसीटीभी फुटेज उपलब्ध गराएको गुनासा गरेका छन ।

‘हामीले पछिल्लो तीन महिनाको सीसीटीभी फुटेज माग गरेका थियौं। तर ३ महिनासम्मको रेकर्ड नबस्ने भन्दै जम्मा २१ दिनको मात्रै उपलब्ध गराइयो’ टोकराज पाण्डे नेतृत्वको समितिको भनाई छ ।

त्यसैगरी भीआईपी कक्षतर्फको भने सीसीटीभी फुटेजमा कभरेज नै नभएको पनि समितिले जनाएको छ। भीआईपीतर्फको एरिया सीसीटीभीटी फुटेजमा कभरेज नभएपछि भीआईपी एरिया दुरुपयोग गरेर पनि सुन तस्करी भएको हुनसक्ने आशंका समितिले निकालेको छ।

पाण्डेसँगै डीएसपी सूर्यप्रकाश सुवेदी, प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको समितिले आइतबार आफनो प्रतिवेदन बुझाएका छन ।

घटनास्थल मुचुल्का, सुन परीक्षण, मोबाइलबाट प्राप्त सूचना, कल डिटेल विश्लेषण, टिकटको बिक्री वितरण, ट्राभल हिस्टी, अभियुक्तको बयान लगायतलाई आधार बनाउँदै अनुसन्धान गरेर प्रतिवेदन बुझाइएको समितिले जनाएको छ।

मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखियो
१४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ। आइतबार पक्रकार सम्मेलन गर्दै समितिका संयोजक टोकराज पाण्डेले अहिलेसम्म घलेसहित उनको समूहका व्यक्तिले १३८ किलो सुन तस्करी गरेको देखिएको बताए।

घलेको समूहले दुबईबाट ल्याएको १३८ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पास गरेको खुलेको पाण्डेले बताए। दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिले सुन पठाउने र घलेको समूहले विमानस्थलबाट बाहिर ल्याउने काम गरेको खुलेको पाण्डेले बताए। सोही क्रममा उनी १४ किलो सुनसहित पक्राउ परेको पाण्डेले बताए।

विमानस्थलबाट सुन निकाल्न नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतले सहयोग गरेको समितिले निष्कर्ष निकालेको छ। विमानस्थलबाट कटाएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटारको सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको बताइएको छ। यो सुन मीनबहादुर र उनका साथी जाने भनिने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्‍याउने गरेको पत्रकार सम्मलेनमार्फत् जानकारी दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै