लमजुङको ७५ वडा कार्यालयमा ३९ ओटा वडासचिव विहीन – Nepalboli

लमजुङको ७५ वडा कार्यालयमा ३९ ओटा वडासचिव विहीन

   २०८० पुष ६, शुक्रबार  

लमजुङ जिल्लाको ७५ वडा कार्यालय मध्ये ३९ ओटा वडासचिव बिहिन हुँदा सेवाग्राहीलाई समस्या भईरहेको छ ।  लमजुङमा चार नगरपालिका र चार गाउँपालिकाका ७५ वडा कार्यालय छन् । ती मध्ये जम्मा ३६ वडामा मात्र वडासचिव रहेको बताइएको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि विभिन्न स्थानीय तहमा वडासचिव नहुँदा कामकाज समयमै नहुनाका साथै अन्य समस्या सेवाग्राहीले झेल्नुपरेको हो ।

छिटोछरितो सेवा पाउनुपर्ने भए पनि वडासचिव नभएकै कारण सो सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् । सरकारले कर्मचारी समायोजन गर्न नसकेका कारण र कर्मचारी सेवासुविधा खोज्दै अन्यत्र स्थल रोज्नाले वडा सचिवको अभावमा नागरिकले आफ्नो दैनिक कामकाजका लागि समस्या भोग्नुपरेको जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँले जिल्लाका अधिकांंश वडामा वडासचिव नभएको उल्लेख गर्नुभयोे ।

वडासचिव नआउँदा एउटै कर्मचारीले दुई दुई वडामा काम गर्नुपर्ने बाध्यताका कारण नागरिकले पाउनुपर्ने छिटोछरितो सेवा सुविधामा समस्या भइरहेको उहाँले बताउनुभयो । वडासचिव नहुँदा स्वास्थ्य तथा पशुका कर्मचारीलाई सचिवको काममा खटाइए पनि सचिवको जस्तो काम भने नहुने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृत्ति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएकाले वडासचिवविहीन हुँदा वडाबाट हुने कामकाजमा अप्थ्यारो भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

बेँसीसहर नगरपालिका-११ चितीका ईश्वरराज सेढाईंले भन्नुभयो, “वडासचिव नहुँदा एउटै कामकाजका लागि एक दिन खर्चेर वडाको काम नगरपालिका पुगेर गरेर आउनुपर्छ । हस्ताक्षरलगायत केही काम बिग्रियो भने फेरि एक दिन जान र एक दिन वडामा काम गर्न समय लाग्ने हुँदा स्थानीयवासीलाई धेरै समस्या भइरहेको छ ।”

बेँसीसहर नगरपालिका -११ का वडाध्यक्ष शिव जोशीले वडासचिव नहुँदा नागरिकलाई वडा कार्यालय आउन र जान दुः ख मात्र हुने गरेको बताउनुहुन्छ । दश महिनादेखि वडासचिव नहुँदा नागरिकले धेरै दुःख पाइरहेको र वडाको कामका लागि नगरपालिकाको कर्मचारीलाई तोकिए पनि वडासचिवको हस्ताक्षर तथा पञ्जीकरणको कामका लागि वडाबाट पालिका जानुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।

नागरिकले पालिका जान र आउनका लागि गाडी भाडा पाँचदेखि छ सय रुपियाँ खर्च गर्न बाध्य हुँदै आएको जानकारी दिँदै वडाध्यक्ष जोशीले सामान्य काम वडाको सहयोगीबाट गर्दै आए पनि विवाह, जन्मदर्ता, मृत्युलगायत कामका लागि अनिवार्य पालिकामा जानुपर्ने बाध्यताले वडा सचिवको माग गर्दैै आए पनि हालसम्म वडा सचिवविहीन कार्यालय भइरहेको बताउनुभयो ।

क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले यस पालिकाको अधिकांश वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताउनुभयो । वडा सचिव नहुँदा पालिकाभित्रकै आन्तरिक कर्मचारीलाई खटाएर काम गराइरहेको उहाँको भनाइ थियो । वडासचिव हुँदा र अन्य कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिँदा फरक परे पनि केही भए पनि समस्या समाधान भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै