काठमाडौँ महानगरद्वारा ‘पुस्तकविहीन शुक्रबार’ कक्षा प्रारम्भ गर्ने घोषणा
काठमाडौँ महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ मा प्रयोगात्मक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि इच्छुक सङ्घसंस्थालाई सूचीकृत हुन आव्हान गरेको छ । महानगरका शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले यसरी सञ्चालन हुने कार्यक्रमका लागि छुट्टै बजेटको व्यवस्था गरिएको बताउनुभयो ।
कोइरालाले भन्नुभयो, “यो बजेट हामी विद्यालयमा पठाउँछौँ । विद्यालयहरूले आफैँ कार्यक्रम सञ्चालन गर्ने छन् । पुस्तकरहित शुक्रबार कार्यक्रम अन्तर्गत कक्षा एकदेखि आठसम्म व्यवहारिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने भएका छन् । कक्षा ९ र १० मा गएको शुक्रबारदेखि शिक्षामा सिप तालिम कार्यक्रम सञ्चालन भइसकेको छ ।”
उहाँका अनुसार सूचीकृत हुनेले चालु आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबारका लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाका कक्षा हुने छन् ।
यसैगरी, सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले भन्नुभयो, “पाठ्यक्रम, दररेटसहित खर्चको प्रस्ताव, कार्यक्रम सञ्चालनका लागि प्रयोग गरिने सामग्रीको विवरणसहित प्रस्तावकले आफूले तालिम सञ्चालन गर्न चाहेको विद्यालय सूचीकृत हुन सक्नेछन् ।”
कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बाल समूहहरू गठन गरिएको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिकाका सञ्चालन भएका र रात्रिकालीन विद्यालय बाहेक ८१ वटा विद्यालयमा समूह गठन भएका छन् ।
शुक्रवारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् ।