काठमाडौंसहित विश्वका ८ ठूला सहरद्धारा जलवायु परिवर्तनको असर कम गर्न प्रतिबद्धता – Nepalboli

काठमाडौंसहित विश्वका ८ ठूला सहरद्धारा जलवायु परिवर्तनको असर कम गर्न प्रतिबद्धता

   २०८० मंसिर २१, बिहीबार  

काठमाडौंसहित विश्वका ८ ठूला सहरले जलवायु परिवर्तन र वायु प्रदुषणको विनाशकारी चक्र तोड्न र त्यसबाट वातावरणमा पर्ने असर कम गर्न प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी २८औं सम्मेलन (कोप–२८) चलिरहेका बेला काठमाडौंसहित ८ ठूला सहरका मेयरहरूले जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रहरूमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका हुन् ।

स्वस्थ सहरकालागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटिज) को विश्व सञ्जालमा आबद्ध सहरका मेयरहरूले जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले सहरहरूले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।

यस्तो प्रतिवद्धता जनाउने सहरहरुमा काठमाडौं महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बंगलादेशको ढाका, रुवाण्डाको किगाली र युगान्डाको कम्पाला सहरका प्रमुखहरू रहेका छन् ।

‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप २८ मा विश्व नेताहरू भेला भइरहँदा, हामी विश्वभरका सहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू अपनाउन र आफ्ना नागरिकहरूको जीवन सुधार गर्न तथ्याङ्कमा आधारित सार्वजनिक स्वास्थ्य कार्य प्रवर्धन गर्न आहृवान गर्दछौँ,’ मेयरहरूले संयुक्त प्रतिबद्धतापत्रमा भनेका छन् ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति लिनुपर्ने बताएका छन् ।

रोमानियाको बुखारेस्ट नगरका प्रमुख निकुसर दानले वायु प्रदूषणसम्बन्धी तथ्याङ्कमा नागरिकको पहुँच होस् भन्ने अभिप्रायले सहरभरि जडान गरिएका प्रदुषण मापन यन्त्रहरुको तथ्याङ्क अनलाइनमा हेर्न मिल्ने ड्यासबोर्ड सञ्चालनमा रहेको बताएका छन् । यहाँ सन् २०२३ को सेप्टेम्बरबाट यस्तो अनलाइन ड्यासबोर्ड सञ्चालनमा छ ।

रुवाण्डाको किगाली नगरका प्रमुख पुडेन्स बिङ्गिसाले वायु प्रदूषणको प्रभाव मूल्याङ्कन गर्ने योजना बनाएको, कार फ्री डे र कार फ्री जोन निर्धारण गरिएको बताएका छन् ।

युगान्डाको कम्पाला महानगरका प्रमुख एरियास लुक्वागोले उपलब्ध प्रमाणहरूको समीक्षा गरिरहेको, वायु प्रदुषण र यससँग सम्बन्धित स्वास्थ्य घटनाहरूको स्थानीय सम्बन्ध विश्लेषण गरिरहेको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको सिकागो सहरका प्रमुख ब्रान्डन जोन्सनले, आफ्नो सहरले समुदाय स्तरमा वायु प्रदुषण अनुगमन रणनीति विकास भएपछि पर्यावरणीय न्यायमार्फत आर्थिक योगदान गरिरहेको उल्लेख गरेका छन् ।

सार्वजनिक स्वास्थ्यमा बढ्दै गएको प्रभाव र जोखिम घटाउन, सहरहरुलाई स्वस्थ बनाउन आफूहरु साझेदारी अंशको रूपमा रहेको प्रमुखहरुको भनाइ छ । नसर्ने रोगबाट हुने मृत्यृको रोकथाम गर्दै सुरक्षित, उत्थानशील, अधिक लचिलो र अधिक समान सहर निर्माणमा आफूहरुले साझा संकल्पका साथ काम गरिरहेको उनीहरूको भनाइ छ ।

जनस्वास्थ्य र वातावरणका लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिम रहेको विश्व स्वास्थ्य संगठनले औल्याएको छ । जसका कारण वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । विश्वका सहरहरुले मुटु रोग, स्ट्रोक र फोक्सोको क्यान्सर जस्ता गैरसंक्रामक रोगको जोखिम बहन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै