पशुपतिनाथ मन्दिर क्षेत्रमा एक सातासम्म मासु, मदिरा र नसालु पदार्थ निषेध
पशुपतिनाथ मन्दिर क्षेत्रमा एक साताका लागि मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर बिहीबारदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।
यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा लागू हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ।
बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ।
कोही कसैले उक्त प्रावधानको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालयले दिएको छ।