४० देशको सहभागीतामा काठमाडौंमा निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुदै
एसिया तथा प्रशान्त क्षेत्रका ४० देशको सहभागीतामा आउदो २० र २१ गते काठमाडौ निर्वाचन व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । एसियाका निर्वाचन व्यवस्थापन सम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाडौंमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’ को आयोजनामा हुने उक्त छैटौँ संस्करणको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’ को उद्घाटन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ।
सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन सम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।
सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्र निर्माण : निर्वाचनसम्बन्धी अवसर र चुनौतीको सम्बोधन’ (बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज) रहेको छ। सम्मेलनमा नेपाल लगायत अन्य मुलुकका विज्ञ व्यक्तिबाट सात विषयमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत तथा काठमाडौं घोषणापत्र जारी गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।