चीनमा कोभिडजस्तै निमोनियाको महामारी – Nepalboli

चीनमा कोभिडजस्तै निमोनियाको महामारी

   २०८० मंसिर ११, सोमबार  

डब्ल्यूएचओले जवाफ मागे तर चीन भने मौन

कोभिड १९ महामारीको प्रकोपको असर नसेलाउँदै चीनमा यस्तै खालको निमोनियाको महामारी फैलिएको छ। यसले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याउन सक्ने चिन्ता बढेको छ। अक्टोबरको मध्यदेखि चीनका विभिन्न क्षेत्रहरूमा बालबालिकामा निमोनियाको संक्रमण बढेको छ। रिपोर्टहरूका अनुसार चिकित्सा कर्मचारीहरू पनि कोभिड १९ महामारीको प्रारम्भिक चरणमा सामना गर्नुपरेका जस्तै चुनौतीहरूबाट प्रभावित भएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्वव्यापी रोग निगरानी प्रणाली प्रोएमईडीले यस अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। नोभेम्बर २२ मा डब्ल्यूएचओले बच्चाहरूमा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगहरूलाई सम्बोधन गर्न पारदर्शी सञ्चारको जरूरतलाई जोड दिँदै आधिकारिक रूपमा चीनबाट प्रकोपको बारेमा विस्तृत जानकारीका लागि अनुरोध गरेको थियो । डब्ल्यूएचओले माग गरेको जवाफ प्रति चीन भने मौन छ।

चिनियाँ अधिकारीहरूले कोभिड-१९, इन्फ्लुएन्जा, र माइकोप्लाज्मा निमोनिया भाइरसलगायत विभिन्न श्वासप्रश्वासजनय रोगहरूको संक्रमण बढिरहेको दाबी गरेका छन् । यद्यपि, चीनभित्रका आमाबाबुलाई आफ्ना बच्चाहरूको रोगहरूको बारेमा बोल्नबाट रोक लगाईएको छ ।

सामाजिक सञ्जालमा प्रसारित असंख्य भिडियोहरूले बेइजिङ, टियानजिन र सांघाईजस्ता प्रमुख शहरहरूमा भीडभाड भएका अस्पतालहरूमा आमाबाबुले आफ्ना बिरामी बच्चाहरूका लागि मेडिकल अपोइन्टमेन्ट सुरक्षित गर्न संघर्ष गरिरहेका देखाउछन । अस्पतालहरूमा बालबालिकाको मृत्युसँग सम्बन्धित मेटाइएका समाचारले चौतर्फी चिन्ता थपेको देखिन्छ।

अन्तर्राष्ट्रिय समुदायले यो संकटमा प्रतिक्रिया दिन थालेका छन्। निमानियाको प्रकोपबारे जानकारीहरू आउन थाले पनि चीनले भने सूचना लुकाइरहेको पश्चिमा देशहरूले आरोप लगाएका छन्। कोभिडको बेला पनि चीन माथी यस्तो आरोप लागेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै