उपेन्द्र यादवलाई प्रधानमन्त्रीमा सघाउने एमाले अध्यक्ष केपी ओलीको प्रस्ताव
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री बनाउने गरि नयां राजनितीक समिकरणको प्रयास थालेको राजनितीक स्रोतहरुले दावी गरेका छन । हिजो वुधवार मात्रै पार्टीको केन्द्रिय समिति बैठकमा एमाले अध्यक्ष ओलीले वर्तमान सरकार भत्काउन आन्दोलन मै जानु पर्ने वा देश मध्यावद्यीमा जान सक्ने आफनो निष्कर्ष रहेको सुनाएका थिए । तर एमाले अध्यक्ष जसपा अध्यक्ष यादव सँग नयाँ समिकरण निर्माणको प्रस्ताव राखेका छन् ।
यादवको पार्टी जसपाले अहिलेको कांग्रेस माओवादीसहितको गठबन्धन तोडेर नयाँ समिकरण बनाउन तयार भए प्रधानमन्त्री बन्न समेत सघाउने अफरसहितको प्रस्ताव एमाले अध्यक्ष केपी ओलीले राखेको छ ।
एमालेले अहिलेको गठबन्धन तोड्न जुनकुनै उपाय अबलम्बन गर्ने सार्वजनिक रुपमा नै बताउँदै आएको छ । त्यही क्रममा चाडवाडको मौका छोपेर एमाले अध्यक्ष ओलीले जसपा अध्यक्ष यादवसँग भेटघाट बाक्लो बनाएको र ती भेटघाटहरुमा यस्तो प्रस्ताव गरेको जसपा निकट सूत्रहरुले बताएका छन् । ओली र यादवबीचको भेटवार्ता देखि नयाँ समिकरण निर्माणको कोसिसका लागि अध्यक्ष यादवलाई फकाउन एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ लगायतका नेता सक्रिय रहेको बुझिएको छ ।
सत्ता गठबन्धन दलहरुका बीचमा सुरुमा माओवादी अध्यक्ष प्रचण्ड, त्यसपछिको एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अन्तिम चुनावी कार्यकालका लागि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरि प्रधानमन्त्रीको कार्यकाल नै बाँडफाँड गरेको सार्वजनिक भईरहेका बेला ओलीले त्यही गठबन्धनको कार्ड फयाँकेर जसपा अध्यक्ष यादवलाई फकाउन नयाँ अस्त्र फयाँकेका हुन् ।
१० सिट भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवलाई प्रधानमन्त्री बनाउन हुने, १२ सिट भएको तपाईँलाई प्रधानमन्त्री बनाउन किन नहुने भन्दै ओलीले यादवलाई फकाउने थालेको जसपा निकट सूत्रहरुको भनाई छ ।
‘अंकगणित अनुसार १० सिट भएको एकीकृत समाजवादीबाट प्रधानमन्त्री बन्न सक्ने अनि १२ सिट भएको जसपाबाट प्रधानमन्त्री हुन किन नसक्ने ? माधव नेपाल प्रधानमन्त्री बन्न हुने, तपाईँ प्रधानमन्त्री बन्न किन नसक्ने ? गठबन्धन तोडेर आउनुहोस् एमालेले तपाईंलाई प्रधानमन्त्री बनाउन सहयोग गर्छ । पहिलो मधेसीलाई नेतालाई प्रधानमन्त्री बनाउन एमाले सहयोग गरेर जान तयार छ’, ओली निवासमा उपेन्द्र यादवसँग राखिएको नयाँ अफरबारे जसपा निकट सूत्रले बताएको छ ।
यादवले पनि ओलीसँग र एमाले नेताहरुसँगको छलफललाई भने बाक्लो बनाउँदै ओलीबाट आएको प्रस्ताव वारेमा पछिल्ले समयमा छलफल गरिरहेका छन ।
कार्तिक अन्तयमा सिरहाको लहानमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा समेत जसपा अध्यक्ष यादवले छठ पछि केन्द्र देखि मधेश प्रदेश सरकारमा परिर्वतन आउन सक्ने कुरा आफनो सम्बाृधनमा बताएका थिए ।
एमालेलाई एक्लाएर बाहिर राखेर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीले बनाएको केन्द्र देखि प्रदेश सम्मको गठबन्धनले एमाले सबैतिर सरकार बाहिर छ । जसकाकारण पनि एमाले अहिलेको यो गठबन्धन तोड्न लागिरहेको छ ।