कांग्रेसले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउने
नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि स्वयंसेवक खटाउने भएको छ । महामन्त्री गगन थापाको सभापतित्वमा मंगलवार बसेको पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र भातृ संगठनको बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा श्रमदान गर्नेसम्बन्धी ६ बुँदे निर्णय गरेको छ ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा अस्थायी घर टहरा निर्माणका लागि पार्टीबाट खटिने स्वयंसेवकका लागि श्रमदानसम्बन्धी कार्यविधिसमेत तयार गरिएको जानकारी दिइएको छ ।
कांग्रेसले अस्थायी घर टहरा निर्माणका लागि एक निर्माण विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने गरी १०र१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह पठाउने भएको छ । उक्त समूहले एक हप्ता काम गरिसकेपछि अर्को १३ वटा समूहले प्रतिस्थापन गर्ने बताइएको छ ।
प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सक परिचालन गरेर सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर चलाउने, नेविसंघले अस्थायी विद्यालय र दुईवटा स्थायी पक्की विद्यालय निर्माणमा श्रमदान गर्ने, नेपाल ट्रेड युनियन कांग्रेसले असहाय परिवार तथा श्रमिकको पुनस्स्थापनामा सहयोग गर्ने पनि कांग्रेसले निर्णय गरेको छ।