राहत वितरण प्रभावकारी बनाउन मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पबाट पीडितहरूलाई राहत वितरण प्रभावकारी बनाउन आग्रह गरेका छन् । आयोगले प्रभावित जिल्लाहरूको स्थलगत अनुगमनपछि शुक्रबार आयोगले सरकारलाई राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
आयोगले भूकम्पपछि उद्धार, राहत र उपचारमा तीन तहका सरकार, राजनीतिक, दल, अधिकारकर्मी, नागरिक समाज लगायत सबै पक्षले देखाएको क्रियाशीलतालाई सकारात्मकरुपमा लिएको भन्दै प्रशंसा गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले शुक्रबार विज्ञप्तिमार्फत् भूकम्पबाट घरबास गुमाएका पीडितहरुको लागि खाद्यान्नको व्यवस्था गर्न, चिसो मौसमबाट सुरक्षित रहन आवास र न्यानो कपडाको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै, विपद्पश्चात सामूहिक बसाईको अवस्थामा पानी, शौचालय, सरसफाईलगायतका अभावका कारण हुन सक्ने विभिन्न किसिमका सरुवा रोग र महामारीको जोखिमबाट सुरक्षित राख्नकालागि समेत आवश्यक पहल गर्न आग्रह गरेका छन् ।