सीपीसी तिब्बतका सचिव वाङ नेपालमा
बुधवार उपराष्ट्रपति र बिहिवार विहान प्रधानमन्त्रीसंग भेटवार्ता
चिनियाँ कम्युनस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ चुनचङ आफ्नो ५ दिने नेपाल भ्रमणमा बुधबार काठमाडौं आइपुगेका छन् । सुरक्षा संवेदनशीलताको हिसाबले महत्त्वपूर्ण मानिने चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङले प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा काठमाडौं भ्रमणमा आएका हुन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङनजिक मानिने पात्रका रूपमा सचिव वाङलाई लिइन्छ । परराष्ट्रका एक अधिकारीका अनुसार नेपाल मामिलामा छलफल गर्दा सचिव वाङको दृष्टिकोण महत्त्वपूर्ण मानिन्छ । नेपालको चीनसँगको सम्पूर्ण भूभाग तिब्बतसँग नै जोडिएको छ ।
सचिव वाङले नेपाल भ्रमण उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भेटेर थालेका छन् । उनको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले बुधवार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिवार विहान वाङले प्रधानमन्त्रीसंग भेटवार्ता गरेका छन । बिहीबार बिहान प्रधानमन्त्री भेट्न वाङ आफनो भ्रम्ण दलका प्रतिनिधि बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरु बीच झण्डै पौने घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिव वाङले राजनीतिक दलका नेताहरू, मन्त्रीहरु, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतलाई भेट्ने कार्यक्रम रहेको छ । साथै, उनी पोखरा पनि गएर एक दिन बस्ने कार्यक्रम छ । पोखरामा चीनको ऋण सहयोगमा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको पनि उनले अवलोकन गर्ने छन् ।