कोशी प्रदेश – एघार महिनापछि संसदीय समिति – Nepalboli

कोशी प्रदेश – एघार महिनापछि संसदीय समिति

   २०८० कार्तिक २३, बिहीबार  

कोशी प्रदेश सभा गठन भएको ११ महिनापछि संसदीय समिति चयन भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले सात वटा विषयगत समितिमा सदस्यहरू चयन गरेको हो । सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले सातवटै संसदीय समिति गठन गरिएको जानकारी बैठकमा गराउनुभएको थियो ।

उपसभामुख दनुवारको निरन्तरको पहल र समन्वयपछि संसदीय समिति गठन गर्ने सहमति जुटेको थियो । लामो समयपछि समिति गठन भएपछि समितिको सभापति निर्वाचित गर्ने प्रव्रिmया दलहरूबिचको सहमतिका आधारमा अगाडि बढ्ने छ । संसदीय समिति गठन नहुँदा प्रदेश सभामा पेस भएका विधेयकमाथिको छलफल प्रभावकारी हुन सकिरहेको थिएन भने विषयगत सबालमा सरकारको ध्यानाकर्षण गराउने र निर्देश गर्ने प्रव्रिmया अवरुद्ध थियो ।

प्रदेश सभा बैठकले गठन गरेको सातवटा समितिमध्ये दलका नेताहरू यस पटक सुशासन तथा योजना समितिमा बस्नुभएको छ । प्रदेश सभाको अघिल्लो कार्यकालमा दलका नेताहरू न्याय प्रशासन तथा विधायन समितिको सदस्यको रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । प्रदेश सभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री र मन्त्रीहरूलाई भने समितिमा समावेश गरिएको छैन । मन्त्रीहरू समितिको सदस्यमा नरहने प्रचलन अनुसार समितिको सदस्यमा नराखिएको प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सदस्य सङ्ख्यालाई समिति सङ्ख्याले भाग जाने अङ्कका आधारमा सदस्यको प्रतिनिधित्व गराइएको छ । कोशी प्रदेश सभामा सबैभन्दा ठुलो दल नेकपा (एमाले) बाट हरेक समितिका कम्तीमा पाँच जना सदस्यको प्रतिनिधित्व रहने छ भने चार वटा समितिमा छ जना सदस्यकोे प्रतिनिधित्व हुने छ । यस्तै २९ सांसद भएको नेपाली कांग्रेसबाट प्रत्येक समितिमा चार सांसदको प्रतिनिधित्व गराइएको छ । नेकपा (माओवादी केन्द्र) बाट कम्तीमा एक जना सदस्य समितिमा रहने छन् । कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति गठन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै