भारतद्धारा भूकम्प पिडितहरुका लागी दोस्रो खेपको राहत सामग्री पनि हस्तान्तरण – Nepalboli

भारतद्धारा भूकम्प पिडितहरुका लागी दोस्रो खेपको राहत सामग्री पनि हस्तान्तरण

   २०८० कार्तिक २०, सोमबार  

नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप पनि भारत सरकारको नेपाल पठाएका छन । हिजो आइतवार मात्रै राहत साम्रगीको पहिलो खेप भारतीय राजदुत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई हस्तानान्तरण गरेका थिए । उक्त साम्रगी सोमवार प्रभावित क्षेत्रमा समेत पठाई सकिएको छ ।

सोमवार भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई दोस्रो खेपका राहत साम्रगी हस्तान्तरण गरेका छन ।

दोस्रो खेपको राहत साम्रगीमा अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो ।

यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको नेपाल स्थित भारतीय राजदुतावासले जनाएको छ । त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै