भारतद्वारा नेपाल सरकारलाई भारतीय १० करोड बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण – Nepalboli

भारतद्वारा नेपाल सरकारलाई भारतीय १० करोड बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण

   २०८० कार्तिक १९, आईतवार  

जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई भारतले भारु १० करोड बराबरको राहत साम्रगी आज हस्तानान्तरण गरेको छ ।  जाजरकोटमा भूकम्प पछि हरसम्भव सहयोग उपलब्ध गराउने भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले प्रतिबद्धता व्यक्त गरेका थिए । काठमाडौ स्थित भारतीय दुतावासका अनुसार मोदीको त्यही प्रतिबद्धता अनुरुप आज भारु १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुुगेको छ ।

भारतीय वायसेनाको एक विशेष विमान सी १३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । यी आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरुका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लीपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन् ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले यी राहत सामग्री कर्णलीका मुख्यमन्त्री राज कुमार शर्माको उपस्थितिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूणर् बहादुर खड्कालाई हस्तान्तरण गरेका हुन । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको दुतावासले जनाएको छ ।

२०७२ सालको भूकम्पपछि नेपाललाई सहयोग गर्न भारत सरकारले सबैभन्दा सुरुमा तत्परता देखाएको थियो र बाह्य मुूलुकमा अपरेशन मैत्री नामक सबैभन्दा ठूलो विपद राहत कार्य संचालन गरेको थियो । भारतले आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा दीर्घकालीन सहकार्यको एक हिस्साको रुपमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको थियो जसमा नेपालका गोरखा र नुवाकोट जिल्लाका ५०,००० घरहरुको पुनर्निर्माण कार्य समावेश थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै