रेल सेवा बिस्तार बारेमा छलफल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तबीच रेल सेवाका विषयमा छलफल भएको छ। विराटनगर–जोगवनी तथा बिजलापुर बर्दिवास रेलका विषयमा कुराकानी भएको निजी सचिव रामहरि शर्माले बताए।
नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार विराटनगरदेखि जोगवनीसम्म रेल निर्माणको काम भइरहेको छ। कतिपय ठाउँमा मुआब्जाको समस्या देखिएको भन्दै राजदूत श्रीवास्तवले तत्काल समस्या सुल्झाउन मन्त्री ज्वालासँग आग्रह गरेका थिए।
जवाफमा मन्त्री ज्वालाले मुआब्जा लगायतका समस्या आगामी जनवरी महिनासम्म सुल्झाउने बताए।
बिजलापुरदेखि बर्दिवाससम्म पनि रेलको काम छिट्टै सुरू गर्ने विषयमा पनि छलफल भएको छ। जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा सञ्चालनमा छ। तर रेल सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा समस्या परेको छ। नेपाली जनशक्तिलाई भारत रेल्वे कम्पनीले तालिम दिने भएको छ।