अमेरिका, भारत सहित ९ देशका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने – Nepalboli

अमेरिका, भारत सहित ९ देशका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने

   २०८० कार्तिक १७, शुक्रबार  

अमेरिका सहित ९ देशका सेनाले नेपालमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन्। नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ कार्तिक गतेसम्म सञ्चालन हुनेछ।

विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको नेपाली सेनाले जानकारी दिएको छ।

विशेषज्ञसँगको शैक्षिक छलफल र टेबल कार्य काठमाडौंको होटल मेरिओटमा हुनेछ। फिल्ड तालिम अभ्यास भने चितवनमा सञ्चालन गरिने सेनाले जनाएको छ।

उक्त तालिम अभ्यासमा विपद् व्यवस्थापन कार्यमा नेपालबाट सबैभन्दा बढी २१० जना सहभागी हुनेछन्। नेपाली सेनासँगै विपद व्यवस्थापन कार्यमा आबद्ध नेपालका सरकारी तथा गैर सरकारी निकायबाट पनि तालिममा सहभागी गराइने छ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डबाट ४४ जना सहभागी हुनेछन्। यस्तै भारत, मालदिभ्स, मंगोलिया, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बेलायतबाट १६ जना गरी २७० जना सहभागी हुनेछन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै