सत्तारुढ माओवादीले सडक प्रदर्शन गर्ने
सरकारको नेतृत्व गरेको माओवादीले मंसिर तेस्रो साता सडक प्रदर्शन गर्ने निर्णय गरेको छ । पूर्व राजाको पक्षमा प्रदर्शन भइरहेका बेला माओवादीले लोकतन्त्र र संघीय गणतन्त्र बलियो बनाउन प्रर्दशन गर्ने निर्णय गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने प्रयास भइरहेको उल्लेख गर्दै माओवादीले मंसिर २२ मा देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रदर्शनको तयारी गर्न केन्द्रीय समितिले तलका सबै समितिलाई परिपत्र गरेको छ । पूर्वराजावादीहरूको नामै नलिई प्रतिगमनकारीको चलखेलविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको रक्षाका लागि जनपदर्शन गर्ने निर्णय गरिएको बताए ।
‘पार्टी सरकारमा भए पनि, नभए पनि संघीयता, गणतन्त्र बलियो गर्नु जनपरिचालन गर्नु कर्तव्यअन्तर्गत पर्छ,’ उनले भने, ‘लोकतन्त्र, संघीयताको सुदृढीकरणका लागि देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको हो । यो कसैप्रति लक्षित होइन ।’ उनले पार्टी विशेष रूपान्तरणअन्तर्गत जनपरिचालन कार्यक्रम तय भएको बताए । ‘यो कसैविरुद्ध प्रदर्शन होइन,’ उनले भने ।
माओवादीले संगठन सुदृढीकरणका लागि मंसिर १५ सम्म विशेष रूपान्तरण अभियान चलाएको थियो । अभियानका क्रममा दसैं, तिहार, छठ पर्व परेकाले पुस १५ सम्म समय बढाएको छ । ‘माओवादी विशेष रूपान्तरण अभियानले पार्टी संगठन सुदृढीकरणका लागि महत्त्वपूर्ण सुझाव आएका छन् । ती सुझावलाई लिएर अघि बढ्छौँ,’ सापकोटाले भने, ‘हामीले आफ्नो कुराभन्दा जनताका गुनासा सुनेका छौँ ।’
पार्टी पदाधिकारी बैठकले रूपान्तरण अभियानमा नखटिएका केन्द्रीय सदस्यको विवरण पठाउन परिपत्र गरेको छ ।