वर्तमान सरकारलाई जसरी भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो – ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आएको बताएका छन्। आइतबार ओखलढुंगामा गुरु लुइटेल स्मृति पार्कको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो सरकार राख्न नहुने बताए।
‘तपाईंहरु भन्नुस् त, यस्तो सरकार बसिरहन हुन्छ ? राख्न हुन्छ अब ? तपाईं हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, सम्बोधनका क्रममा ओलीले भने।
ओलीले सरकारलाई नालायक भन्दै कटाक्ष गरे, भने- ‘जनता हेर्दैन, सुनतिर हेर्छ- ब्रेक सु ल्याउँछ- सुन, सिगरेट ल्याउँछ – सुन । पानी तान्ने मोटर ल्याउँछ- सुन। स्याउ ल्याउँछ- सुन। बुढाबुढीले उहिल्यै हामीलाई आशिक दिनुहुन्थ्यो- माटो छुँदा अन्न होस्, ढुंगा छुँदा द्रव्य होस् भनेर। अहिले जे छोयो, त्यही सुन हुने। माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी नेतृत्वको सरकार। परिवर्तनकारी नेतृत्वको सरकार, कस्तो ? भ्रष्टाचारी- तस्करी।’