छठको तयारीसँगै बाँसका सामग्रीको कारोबार चम्कियो – Nepalboli

छठको तयारीसँगै बाँसका सामग्रीको कारोबार चम्कियो

   २०८३ कार्तिक ३०, आईतवार  

काठमाडौ— छठ पर्व नजिकिएसँगै बजारमा धार्मिक सामग्रीको खरिदबिक्री बढेको छ । विशेषगरी बाँसका चोयाबाट तयार गरिएका डालो, नाङ्लो, डोको, कोनिया र ढाकीको माग बढेपछि व्यापारीलाई भ्याइनभ्याइ भएको छ ।

तिहार सकिएलगत्तै छठको तयारी सुरु भएपछि बजारमा बाँसका सामग्री किन्ने ग्राहकको चहलपहल बढेको हो । छठ पूजामा प्रसाद तथा फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग सबैभन्दा बढी रहेको व्यापारीहरू बताउँछन् ।

एक व्यापारीका अनुसार छठका लागि मात्रै तीन–चार दिनमा तीन लाख रुपैयाँभन्दा बढीको बाँसका सामग्री बिक्री हुने गरेको छ । अर्का व्यापारीका अनुसार छठमा बाँसबाट बनेका सामग्रीको प्रयोग धार्मिक परम्परासँगै जोडिएकाले हरेक वर्ष माग बढ्ने गरेको छ । “छठ सुरु भएसँगै बिहानदेखि बेलुकासम्म ग्राहकको भीड हुन्छ,” उनले भने, “हाम्रा लागि यो वर्षभरिमध्ये महत्वपूर्ण मौसमी व्यापारको समय हो ।”

स्थानीयस्तरमा आफैँले सामग्री उत्पादन गर्न नसक्ने व्यापारीहरूले भारत तथा पहाडी जिल्लाबाट सामग्री ल्याएर सुनसरीका विभिन्न बजारमा बिक्री गर्दै आएका छन्। यसले छठ पर्व धार्मिक आस्थासँगै स्थानीय व्यापार र परम्परागत हस्तकलाको कारोबारलाई समेत चलायमान बनाएको छ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको मुख्य अनुष्ठान सम्पन्न हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै