छठले प्रकृति र समाजप्रतिको जिम्मेवारी सम्झाउँछ : गगन थापा
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन् ।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्यको उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले मानिसलाई सकारात्मक सोचसहित अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरित गर्ने बताएका छन् ।
उनले छठले समाजमा आपसी सद्भाव, सहकार्य र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । विविधता बोकेको नेपाली समाजमा यस्ता पर्वले पारस्परिक सम्मान र सामाजिक सम्बन्धलाई अझ बलियो बनाउने उनको भनाइ छ ।
सभापति थापाले छठको अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र सकारात्मक ऊर्जाको सञ्चार होस् भन्ने शुभकामना दिएका छन् ।