छठमा जनकपुर पुगे रवि लामिछाने, धार्मिक भ्रमणसँगै पार्टी कार्यकर्तासँग भेटघाट
जनकपुरधाम— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम पुगेका छन् । उनी शनिबार विमानमार्फत जनकपुरधाम आइपुगेका हुन् ।
छठ पर्वका अवसरमा जनकपुरधाम आएका लामिछानेले धार्मिक अनुष्ठानसँगै पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
निर्धारित कार्यतालिकाअनुसार शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म लामिछानेले पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । त्यसपछि साँझ ५ बजे छठको खरना तथा अन्य धार्मिक तयारीका लागि तोकिएको निवासस्थानतर्फ जाने कार्यक्रम छ ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म उनले जनकपुरधाम र आसपासका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्नेछन् । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिरलगायत स्थल पुग्ने कार्यक्रम तय गरिएको छ ।
आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा लामिछाने सहभागी हुनेछन् ।
त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको विधिमा सहभागी भएपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट काठमाडौं फर्किने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।