प्रहरी सुधारका लागि नयाँ कानुनदेखि डिजिटल फोरेन्सिकसम्म, सरकारको यस्तो तयारी
काठमाडौँ— सरकारले नेपाल प्रहरीलाई थप सक्षम, व्यावसायिक र प्रविधिमैत्री बनाउन कानुनी तथा संरचनागत सुधार अघि बढाएको छ । गृहमन्त्री सुधन गुरुङले प्रहरीको सेवासुविधा, सरुवा–बढुवा, प्रविधि र अनुसन्धान प्रणालीमा सुधार गर्दै संगठनलाई आधुनिक बनाउने तयारी भइरहेको बताएका छन् ।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी संगठनको सुधारका लागि नयाँ प्रहरी विधेयकमा काम भइरहेको जानकारी दिए । उनका अनुसार नयाँ कानुनमार्फत प्रहरीलाई उत्प्रेरित गर्ने गरी आवास, स्वास्थ्यलगायतका सेवासुविधा थप गर्ने तथा सरुवा–बढुवालाई व्यवस्थित बनाउने सरकारको तयारी छ ।
प्रहरीका सबै कार्यालयलाई क्रमशः डिजिटल बनाउने कामसमेत अघि बढिरहेको उनले बताए । बदलिँदो अपराधको स्वरूपअनुसार प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान, डीएनए फोरेन्सिक र डीएनए प्रोफाइलिङजस्ता क्षेत्रमा क्षमता बढाउन उनले निर्देशन दिए ।
गृहमन्त्री गुरुङले अपराधको स्वरूप अन्तरदेशीय बन्दै गएकाले नेपाल प्रहरीले सीमापार अपराध नियन्त्रण र अनुसन्धानमा समेत आफ्नो क्षमता विस्तार गर्नुपर्ने बताए ।
उनका अनुसार हालै भारतको नयाँ दिल्लीमा भएको बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँगको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको प्रयोगमा सहकार्य बढाउने विषयमा जोड दिइएको थियो ।
“क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ”, उनले भने ।
सरकारले प्रहरीको भौतिक तथा प्राविधिक क्षमता बढाउन लगानीलाई प्राथमिकतामा राखेको पनि गुरुङले बताए । हालै गरिएको नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत प्रहरीको दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए ।
विपद्का समयमा उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था भइसकेको उनको भनाइ छ ।
गृहमन्त्री गुरुङले अवकाशप्राप्त सुरक्षाकर्मीको ज्ञान, सीप र अनुभवलाई समेत राज्यको हितमा उपयोग गर्ने नीति अघि बढाउने बताए ।
उनले प्रहरीको बर्दी नागरिकमा डर र त्रास होइन, आशा र भरोसाको प्रतीक बन्नुपर्नेमा जोड दिए । प्रहरी कार्यालयमा गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानसम्मका हरेक प्रक्रियामा नागरिकलाई केन्द्रमा राखेर काम गर्न उनले निर्देशन दिए ।
“नागरिकले राज्यसँग राखेको अपेक्षा पूरा गर्न सरकारको गति र भावनाअनुसार तपाईंहरूले समेत व्यावहारिक र व्यावसायिक रूपमा आफूलाई रूपान्तरण गर्दै जान जरुरी छ”, उनले भने ।
प्रहरीको आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न पनि उनले निर्देशन दिए ।
राज्यका संवेदनशील सूचना चुहाउने कार्यलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै गुरुङले सूचना संरक्षण र गोपनीयता कायम राख्न प्रहरी अधिकारीलाई जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रममा उनले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विपद् तथा त्यसपछि मनाङ, मुस्ताङ र गण्डकी क्षेत्रमा भएका बाढीपहिरोजस्ता घटनामा आफ्नै सहकर्मी गुमाउँदा पनि प्रहरी अविचलित रूपमा उद्धारमा खटिएको भन्दै उनले प्रहरीको साहसको प्रशंसा गरे ।