कांग्रेसको नयाँ नेतृत्वको ‘टेस्ट’ अब सरकार र स्थानीय चुनावतर्फ, दशैँपछि शपथ
काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशतर्फका अन्तिम परिणाम सार्वजनिक भएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना शुक्रबार बिहान पूर्णरूपमा सम्पन्न भएको हो ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको थियो । खस आर्य र थारूतर्फका सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यको मतगणनासमेत राति अबेर सम्पन्न भएको उनले जानकारी दिए ।
सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २३ गते मतदान भएको थियो । सोही रात राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सुरु गरिएको थियो भने सभापतिको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो ।
निर्वाचन समितिका अनुसार यसपटक ७ हजार ३९२ मतदाताको मतगणना करिब एक सातामै सम्पन्न भएको छ । १४औँ महाधिवेशनमा करिब ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो ।
मतगणना छिटो सम्पन्न गर्न सुरुदेखि नै दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो । निर्वाचनका क्रममा कुनै विवाद उत्पन्न नभएको र मतदान तथा मतगणना सौहार्दपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिको दाबी छ ।
यसपटक करिब १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए । प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
निर्वाचन समितिले अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको जनाएको छ ।
अब कांग्रेसको ध्यान नतिजा सार्वजनिक गरेपछि नयाँ कार्यसमितिको औपचारिक कार्यभार सम्हाल्नेतर्फ केन्द्रित हुनेछ । निर्वाचन समितिका अनुसार प्रमाणपत्र वितरण र नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम दशैँलगत्तै गर्ने तयारी छ ।
शपथग्रहणपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ । कांग्रेस नेताहरूका अनुसार उक्त बैठकमा पार्टीको आगामी राजनीतिक रणनीतिसँगै स्थानीय तह निर्वाचनको तयारी र आवश्यक कार्ययोजनाबारे समेत छलफल हुने सम्भावना छ ।
यससँगै १५औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ नेतृत्वका लागि संगठन सञ्चालनसँगै आगामी निर्वाचनमा पार्टीलाई थप प्रभावकारी बनाउने चुनौतीसमेत सुरु हुनेछ ।