प्रतिकूल मौसमको सम्भावनापछि कांग्रेस महाधिवेशनको मतदान बिहान सारियो
काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २२ गतेका लागि तय गरिएको केन्द्रीय नेतृत्व चयनको मतदान प्रक्रिया प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै बिहानका लागि सारिएको छ ।
मतपत्र छपाइमा भएको ढिलाइका कारण निर्धारित समयमा मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले रातिको सट्टा बिहान मतदान गराउने निर्णय गरेको हो । समितिका अनुसार मतपत्र छपाइ भएर आइसकेको, आवश्यक जनशक्ति तथा स्वयंसेवक परिचालनका लागि तयार रहेको र सुरक्षा व्यवस्थासमेत मिलाइसकिएको थियो ।
तर रातिको समयमा मतदान गराउँदा हुने कठिनाइ र सम्भावित प्रतिकूल मौसमका कारण बिहानबाट मतदान सुरु गर्नु उपयुक्त हुने सुझाव आएपछि निर्वाचन कार्यतालिका परिवर्तन गरिएको निर्वाचन समितिले जनाएको छ ।
संशोधित तालिकाअनुसार शुक्रबार बिहान ७ बजेदेखि ज्येष्ठ मतदाताबाट मतदान सुरु हुनेछ। मतदान अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनाअनुसार आज तोकिएकै मतदान केन्द्रबाट सम्बन्धित प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका निर्वाचनसमेत सम्पन्न गरिनेछ ।
मतदानको नयाँ समयतालिका सार्वजनिक भएसँगै कांग्रेस महाधिवेशनको नेतृत्व चयन प्रक्रिया अब बिहानैबाट अघि बढ्ने भएको छ ।