सरकारले मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउने गृहकार्यमा
काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री साम्सित पोखरेलले मधेश प्रदेशमा शिक्षा क्षेत्रको मुहार फेर्न सरकारले १०० विश्वस्तरीय विधालय मधेसमा वनाउने गृहकार्य अघि बढाएको जानकारी दिएका छन ।
ऐतिहासिक दरबार हाइस्कुलजस्ता सुविधा सम्पन्न र विश्वस्तरीय विद्यालयहरूको मधेसमा आवश्यकता रहेको उनले बताएका छन् ।
बाराको सिमरामा आयोजित उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मधेशमा गुणस्तरीय पूर्वाधारसहितका नमुना विद्यालय स्थापना गर्ने सरकारको योजना रहेको पनि बताए ।
कार्यक्रममा मधेशकेन्द्रित शिक्षा सुधारका योजनाहरू प्रस्तुत गर्दै मन्त्री पोखरेलले दरबार हाइस्कुलको अवधारणा र यसको आवश्यकतामाथि विशेष जोड दिए ।
‘प्रधानमन्त्रीज्यूले मधेशमा विश्वस्तरीय विद्यालय खुल्नुपर्छ भनेर उहाँले मलाई सुझाव दिनुभएको छ । हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,’ मन्त्री पोखरेलले भने । उनले मधेशमा कम्तीमा १०० वटा विश्वस्तरीय माध्यमिक तहसम्मका विद्यालय स्थापना गर्ने बताए ।
‘अहिले चलिरहेको विद्यालयलाई नै रूपान्तरण गरेर वा अन्य कुनै ठाउँमा सारेर चलाउनेगरी विभिन्न मोडालिटीमा काम गर्न सकिन्छ । जसरी हुन्छ, दरबार हाइस्कुलजस्ता उत्कृष्ट विद्यालयहरू मधेशमा अझै धेरै आवश्यक छन्,’ उनले भने ।