कांग्रेस महाधिवेशनको दोस्रो दिन: बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्दै – Nepalboli

कांग्रेस महाधिवेशनको दोस्रो दिन: बन्दसत्रसँगै निर्वाचन प्रक्रिया अघि बढ्दै

   २०८३ आश्विन १९, सोमबार  

काठमाडौँ— नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन आज पार्टीको नीति, राजनीतिक प्रतिवेदनदेखि नयाँ नेतृत्व चयनको प्रारम्भिक निर्वाचन प्रक्रियासम्मका गतिविधि अघि बढ्ने भएका छन् ।

महाधिवेशनको उद्घाटन सत्र आइतबार सम्पन्न भएपछि आज बिहान ९ बजेबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक विषय समेटिएका प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बन्दसत्रसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचनसम्बन्धी प्रक्रिया पनि आजैबाट सुरु हुनेछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साँझ ५ बजे महाधिवेशनका मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित नामावलीमाथि दाबी–विरोधका लागि साँझ ६ः३० बजेसम्मको समय तोकिएको छ। त्यसपछि प्राप्त दाबी–विरोधमाथि निर्वाचन समितिले ७ः३० बजेसम्म छानबिन गर्नेछ ।

छानबिन प्रक्रिया पूरा भएपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

यससँगै कांग्रेस महाधिवेशन उद्घाटनको औपचारिक चरणबाट नेतृत्व चयनको प्रतिस्पर्धातर्फ प्रवेश गर्नेछ । सोमबारको गतिविधिले आगामी निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम टुंगो लगाउने भएकाले महाधिवेशनको दृष्टिले आजको दिनलाई महत्वपूर्ण मानिएको छ ।.

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै