लोकतन्त्रपछि अब ‘डेलिभरी’मा जोड, कांग्रेसले जनतासँगको दूरी घटाउनुपर्छः गगन थापा
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक परिवर्तनलाई जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने परिणामसँग जोड्न —कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले दशकौँ लामो राजनीतिक संघर्ष र परिवर्तनपछि पनि रोजगारी, युवा पलायन र जनताको जीवनस्तर सुधारजस्ता आधारभूत प्रश्न समाधान हुन नसकेको भन्दै अब यसको गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
उनले राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपभन्दा विगतको यात्राबाट सिकेर आर्थिक तथा सामाजिक रूपान्तरणको नयाँ बाटो तय गर्नुपर्ने धारणा राखे ।
‘३५ वर्षदेखि युद्ध किन व्यहोर्यौँ ? शान्ति प्रक्रियामा पनि यहीँ भयो । यही ३५ वर्षभित्र सबै गाउँ रित्तिए । किन रोजगारी भएन ? युवा किन पलायन भयो ? ’ थापाले प्रश्न गरे ।
उनका अनुसार लोकतन्त्र प्राप्तिपछि नागरिकले राजनीतिक अधिकारसँगै रोजगारी, विकास, सुशासन र सेवा प्रवाहमा परिवर्तन खोजिरहेका छन् । त्यसैले कांग्रेसले अब लोकतन्त्रको संरक्षणसँगै त्यसको प्रतिफल जनतासम्म पुर्याउने विषयलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउनुपर्नेछ ।
‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ थापाले भने, ‘पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ ।’
थापाले वर्तमान राजनीतिक परिस्थितिलाई पनि विगतका राजनीतिक घटनाक्रमको निरन्तरताका रूपमा बुझ्नुपर्ने बताए । नयाँ राजनीतिक शक्तिको उदयलाई केवल सत्ता परिवर्तनको विषयका रूपमा नभई परम्परागत दलप्रति जनतामा देखिएको असन्तुष्टिसँग जोडेर समीक्षा गर्नुपर्ने उनको संकेत थियो ।
उनले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी पार्टीको राजनीतिक दिशा र जनतासँगको सम्बन्ध पुनः परिभाषित गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।
‘हामी महाधिवेशनमा यही कुरा डेलिभरी दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ,’ उनले भने ।
कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था र नागरिकबीचको विश्वासमा समेत असर पर्न सक्ने भन्दै थापाले पार्टीलाई जनताको आवश्यकता र अपेक्षासँग अझ नजिक बनाउनुपर्ने बताए ।
‘पुल ढल्यो भने विश्वास ढल्छ,’ उनले भने, ‘त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ ।’
थापाले तत्कालको चुनावी लाभका लागि पार्टीको सिद्धान्त र राजनीतिक मूल्यसँग सम्झौता नगर्ने स्पष्ट नीति कांग्रेसले लिनुपर्ने बताए । उनका अनुसार चुनाव जित्नु मात्रै राजनीतिक सफलताको मापदण्ड नभई दीर्घकालीन रूपमा सही नीति र सिद्धान्तमा अडिन सक्ने क्षमता पनि आवश्यक छ ।
‘सिद्धान्तमा अडिनुपर्दा पाँच वटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ भन्ने हुनुपर्छ,’ उनले भने ।
आर्थिक विकासका लागि निजी क्षेत्र, उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा पनि थापाले जोड दिए । उत्पादन र लगानी बढाएर रोजगारी सिर्जना गर्ने विषयलाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने उनको भनाइ थियो ।
उनले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्वीकार गर्दै तत्कालीन चुनावी परिणामभन्दा देशको दीर्घकालीन हितलाई प्राथमिकता दिने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए ।
थापाका अनुसार कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै लोकतान्त्रिक मूल्यलाई जनताको दैनिक जीवनमा देखिने परिणामसँग जोड्ने स्पष्ट राजनीतिक कार्यदिशा तय गर्नुपर्नेछ ।