१४५ दिनमा राष्ट्रियसभाका ५२ बैठक, ६ विधेयक पारित
काठमाडौँ— राष्ट्रियसभाको २१औँ अधिवेशन १४५ दिनको संसदीय गतिविधिपछि शुक्रबार सम्पन्न भएको छ । वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म चलेको अधिवेशनमा ५२ वटा बैठक बसेका छन् ।
अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार अधिवेशनका क्रममा राष्ट्रियसभाले कुल ९८ घण्टा १० मिनेट संसदीय कामकारबाहीमा खर्च गरेको छ ।
अधिवेशनको प्रमुख उपलब्धिका रूपमा अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका ६ वटा विधेयक पारित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक पारित भई प्रमाणीकरणको प्रक्रिया पूरा भएको अध्यक्ष दाहालले जानकारी दिए ।
त्यसैगरी विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलगायत बजेटसम्बन्धी प्रक्रिया पनि अधिवेशनबाट टुंग्याइएको छ ।
विपद् र सामाजिक मुद्दामा विशेष प्रस्ताव
अधिवेशनले लैङ्गिक हिंसा रोकथाम तथा सहायक प्रजनन प्रविधिको नियमनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मत पारित गरेको छ । मनसुनजन्य विपद् व्यवस्थापन तथा रसुवाको भोटेकोशी बाढीपीडितको राहत र पुनःस्थापनाका लागि पनि विशेष प्रस्ताव पारित गरिएको छ ।
भोटेकोशी–कालीगण्डकी करिडोरमा भएको विपद्को अध्ययन गर्न संसदीय विशेष समिति गठन गरिएको छ । महिला समन्वय समितिसमेत गठन भएको राष्ट्रियसभाले जनाएको छ ।
सरकारलाई रुलिङदेखि मन्त्रालयगत प्रश्नसम्म
सांसदहरूले शून्य, विशेष र आकस्मिक समयमा उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले विभिन्न विषयमा रुलिङ गरेका थिए। ग्यासको सहज आपूर्तिका लागि समेत सरकारलाई निर्देशन दिइएको थियो ।
अधिवेशनमा १५ वटा मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै त्यसबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशनसमेत दिइएको छ ।
अध्यक्ष दाहालले रसुवाको भोटेकोशी बाढीपछिको अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत विषय उठाइएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा राष्ट्रिय एकता र सहकार्य आवश्यक रहेको बताए ।