तेस्रोपटक महाधिवेशन प्रतिनिधि बने ‘जोगिन्दर पानवाला’, केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा – Nepalboli

तेस्रोपटक महाधिवेशन प्रतिनिधि बने ‘जोगिन्दर पानवाला’, केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

   २०८३ आश्विन १४, बुधबार  

सर्लाही— लोकप्रिय कलाकार तथा सञ्चारकर्मी शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट रिजाल तेस्रोपटक केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

क्षेत्रीय अधिवेशनबाट निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्दै रिजालले कला क्षेत्रका मुद्दालाई राजनीतिक तहमा प्रभावकारी रूपमा उठाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।

उनले नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसमा आबद्ध भएको आफ्नो राजनीतिक यात्रालाई अब पार्टीको केन्द्रीय तहसम्म अघि बढाउन चाहेको उल्लेख गरे ।

“नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेससँग जोडिएको मेरो राजनीतिक यात्रालाई अब थप अगाडि बढाउँदै १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुँ,” रिजालले भने, “मेरो उपस्थितिले कांग्रेसमा कला क्षेत्रका मुद्दा र समस्यालाई अझ बलियो ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास लिएको छु ।”

रिजाल नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघका महामन्त्रीसमेत हुन् । पार्टीको संगठनात्मक राजनीतिसँगै कला क्षेत्रका विषयलाई संस्थागत रूपमा उठाउँदै आएका उनले यसपटक केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

तेस्रोपटक महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनको केन्द्रीय सदस्यको उम्मेदवारीलाई सर्लाही कांग्रेसभित्र चासोका साथ हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै