प्राकृतिक खेतीसम्बन्धी तालिमका लागि ५० नेपाली कर्मचारी भारत प्रस्थान – Nepalboli

प्राकृतिक खेतीसम्बन्धी तालिमका लागि ५० नेपाली कर्मचारी भारत प्रस्थान

   २०८३ आश्विन १४, बुधबार  

काठमाडौं— प्राकृतिक तथा दिगो खेतीसम्बन्धी पाँचदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन ५० जना नेपाली कर्मचारीको टोली भारत प्रस्थान गरेको छ ।
भारतीय राजदूतावास काठमाडौंका अनुसार कृषि क्षेत्रमा कार्यरत नेपाली अधिकारीहरूको तेस्रो ब्याच बुधबार भारत प्रस्थान गरेको हो । टोलीले भारतको कुशीनगरस्थित गुरुकुलमा असोज १३ देखि १७ गतेसम्म प्राकृतिक खेतीसम्बन्धी प्रशिक्षण लिनेछ ।

भारत सरकारको पूर्ण प्रायोजनमा सञ्चालन भइरहेको उक्त प्रशिक्षण कार्यक्रमअन्तर्गत यसअघि पहिलो र दोस्रो ब्याचका नेपाली अधिकारीले क्रमशः सेप्टेम्बर २०२५ र अगस्ट २०२५ मा प्रशिक्षण पूरा गरिसकेका छन् ।

प्रशिक्षणमा प्राकृतिक तथा दिगो खेतीका अभ्यासमा नेपाली अधिकारीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि, प्राकृतिक खेती प्रविधिमा व्यावहारिक अनुभव तथा दिगो कृषिका उत्कृष्ट अभ्यासबारे आदान–प्रदान गराइने भारतीय राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार कार्यक्रमले कृषि क्षेत्रमा भारत र नेपालबीचको दीर्घकालीन साझेदारी तथा दिगो र वातावरणमैत्री कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै