तीन दिन भारी वर्षाको चेतावनीपछि सरकार सक्रिय, नदीदेखि राजमार्गसम्म चौबीसै घण्टा निगरानी
काठमाडौँ— आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना देखिएपछि सरकारले सम्भावित बाढी, पहिरो र डुबानको जोखिम घटाउन विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम र नदीको अवस्थालाई ‘रियल टाइम’मा निगरानी गर्दै प्रतिघण्टा पूर्वसूचना अद्यावधिक गर्ने तयारी गरेको छ । जोखिम बढ्दै गएमा सम्बन्धित क्षेत्रका नागरिकलाई मोबाइल एसएमएसमार्फत तत्काल सूचना पठाइने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी कुन नदीमा जलसतह कहिले खतराको तहमा पुग्न सक्छ र त्यसको प्रभाव कुन क्षेत्रमा पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ ।
सडक यात्रा र पर्यटकलाई विशेष सतर्कता
भारी वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र नदी आसपास बाढीको जोखिम बढ्न सक्ने भएकाले मुख्य राजमार्ग तथा सडकको अवस्था निरन्तर निगरानी गरिने भएको छ । जोखिम अत्यधिक बढेमा सडक तथा यातायात सेवा अस्थायी रूपमा रोक्न सकिने सरकारी तयारी छ ।
शुक्रबार र शनिबार अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तयारी गरिएको छ। यातायात व्यवसायीलाई समेत मौसम र सडकको अवस्था मूल्यांकन गरेर मात्र सेवा सञ्चालन गर्न भनिएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन मुख्य राजमार्गमा डोजर तथा अन्य भारी उपकरण तयारी अवस्थामा राखिएका छन् ।
यस्तै, हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई जोखिमको अवस्था हेरी सुरक्षित स्थानतर्फ फर्किन आग्रह गरिएको छ । ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङमा सावधानी अपनाउन तथा सम्भावित उद्धारका लागि आवश्यक पूर्वतयारी गर्न भनिएको छ ।
आँधी प्रणालीदेखि हिमपातसम्म निगरानी
प्राधिकरणले समुद्रमा विकसित हुन सक्ने ठूलो आँधी प्रणाली र त्यसको सम्भावित दिशाबारे समेत निगरानी गरिरहेको जनाएको छ । मौसम प्रणाली छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपात तथा मध्यपहाडी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको जोखिम रहेको जनाइएको छ ।
किसानलाई धान र अन्न जोगाउन आग्रह
भारी वर्षाका कारण खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अनाजमा क्षति पुग्न सक्ने भएकाले किसानलाई सम्भव भएसम्म बाली सुरक्षित राख्न आग्रह गरिएको छ । यसका लागि कृषि मन्त्रालयमार्फत छुट्टै सूचना तथा सुझावसमेत जारी गरिएको छ ।
‘भिडियो बनाउन’ जोखिम नमोल्न चेतावनी
प्राधिकरणले बाढी तथा वर्षाको समयमा नदी किनारमा गएर भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने जोखिमपूर्ण गतिविधि नगर्न विशेष आग्रह गरेको छ ।
खोलामा पसेर दाउरा वा अन्य सामग्री संकलन गर्ने कामसमेत ज्यान जोखिममा पार्ने भएकाले त्यस्ता गतिविधिबाट टाढा रहन प्राधिकरणले चेतावनी दिएको छ ।
सम्भावित विपद् सामना गर्न देशभरका सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमान्ड पोस्टमार्फत मौसम, नदीको जलसतह र सम्भावित जोखिमबारे चौबीसै घण्टा निगरानी भइरहेको छ ।
प्राधिकरणले मौसम तथा नदीको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाभन्दा सरकारी निकायबाट जारी हुने पूर्वसूचना र स्थानीय प्रशासनका निर्देशनलाई आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ ।