बाढीपछिको सहयोगदेखि द्विपक्षीय सम्बन्धसम्मः न्यूयोर्कमा खनाल–जयशंकर भेट
न्युयोर्क— संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा नेपाल र भारतका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच न्यूयोर्कमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको हो ।
भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताबाट प्राप्त सहयोगप्रति मन्त्री खनालले आभार व्यक्त गरेका छन् । बाढीपछिको संकटमा भारतले तत्काल उपलब्ध गराएको सहयोगप्रति उनले धन्यवाद दिएका हुन् ।
दुई मन्त्रीबीच नेपाल–भारतबीच रहँदै आएको निकट र लामो समयदेखिको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
भेटका क्रममा पारस्परिक हितसँग जोडिएका विभिन्न विषयमा विचार आदानप्रदान भएको थियो । दुवै पक्षले दुई देशबीचको सहकार्य र सम्बन्धलाई निरन्तरता दिने आवश्यकतामा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका मन्त्री खनाल र जयशंकरबीचको भेटलाई बाढीपछिको मानवीय सहयोगसँगै नेपाल–भारत सम्बन्धका आगामी सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।