भोटेकोसी पुनर्निर्माणमा अमेरिकी सहयोगबारे छलफल, परराष्ट्रमन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच भेट – Nepalboli

भोटेकोसी पुनर्निर्माणमा अमेरिकी सहयोगबारे छलफल, परराष्ट्रमन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच भेट

   २०८३ आश्विन ७, बुधबार  

न्युयोर्क— नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा भोटेकोसी बाढीपछि जारी राहत र पुनर्निर्माणका विषयमा परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच छलफल भएको छ ।

न्युयोर्कमा भएको भेटवार्तामा पछिल्लो समय भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासबारे विशेष रूपमा कुराकानी भएको नेपाली नियोगले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि भइरहेको प्रयासबारे जानकारी गराएका थिए । त्यस क्रममा अमेरिकी पक्षबाट पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोगको विषयमा समेत छलफल भएको जनाइएको छ ।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षसँगै आपसी सहकार्यलाई निरन्तरता दिने विषयमा पनि विचार आदानप्रदान भएको थियो ।

छलफलमा नेपालका परराष्ट्रसचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत उच्च अधिकारी सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै