कांग्रेस महाधिवेशन स्थानीय तहमा प्रवेश, आज पालिका नेतृत्व छानिँदै – Nepalboli

कांग्रेस महाधिवेशन स्थानीय तहमा प्रवेश, आज पालिका नेतृत्व छानिँदै

   २०८३ आश्विन ७, बुधबार  

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको नेतृत्व चयन हुँदैछ । वडा अधिवेशन सम्पन्न भएसँगै महाधिवेशन प्रक्रिया अब गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको नेतृत्व चयनतर्फ अघि बढेको हो ।

असोज ३ गतेबाट सुरु भएको वडा अधिवेशन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि बुधबार असोज ७ गते पालिका अधिवेशन हुन लागेको हो । पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसको संगठनात्मक संरचना पुनर्गठनको प्रक्रिया थप अगाडि बढ्नेछ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको छ । मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका बाँकी केही वडामा पनि अधिवेशन पूरा भएको समितिले जनाएको छ ।

भौगोलिक तथा मानवीय क्षतिको अवस्थालाई ध्यानमा राख्दै रसुवामा भने पालिका अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको छ । भीषण बाढीपहिरोबाट रसुवा प्रभावित भएकाले त्यहाँको विशेष परिस्थितिलाई मध्यनजर गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

यसपटक क्रियाशील सदस्यता व्यवस्थापन पनि अधिवेशनको महत्वपूर्ण पक्ष बनेको छ । केन्द्रीय समितिले २०८२ पुस २१ गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई समेत समेट्ने निर्णय गरेपछि कतिपय स्थानमा सदस्यता विवरण अद्यावधिक गर्न समय लागेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार सदस्यता सूची व्यवस्थापनमा देखिएको ढिलाइ राजनीतिक विवादका कारण नभई ठूलो संख्यामा तथ्यांक अद्यावधिक गर्नुपरेकाले उत्पन्न भएको प्राविधिक समस्या हो ।

पालिका कार्यसमितिमा कस्तो हुनेछ संरचना?

कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट पाँचजना मुख्य पदाधिकारी निर्वाचित हुनेछन् । सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले कोषाध्यक्ष चयन गर्ने व्यवस्था विधानमा छ ।

पालिका कार्यसमितिलाई समावेशी बनाउन वडा, युवा तथा दलित क्लस्टरबाट समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य तथा युवा क्लस्टरबाट एक महिला र दुई खुला सदस्य निर्वाचित हुनेछन् । दलित समुदायबाट पनि एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था छ ।

त्यसैगरी कार्यसमितिलाई थप समावेशी बनाउन गाउँपालिकामा सात, नगरपालिकामा नौ, उपमहानगरपालिकामा ११ र महानगरपालिकामा १३ जना सदस्य मनोनयन गर्न सकिने प्रावधान राखिएको छ ।

पालिका अधिवेशनले अब कांग्रेसको स्थानीय संगठनमा नयाँ नेतृत्वसँगै आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियालाई समेत निर्णायक रूपमा अघि बढाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै