ट्रम्पको निर्णयपछि हुथीको दबदबा बढ्यो, यमनका रणनीतिक पहाड कब्जा गर्ने प्रयास तीव्र – Nepalboli

ट्रम्पको निर्णयपछि हुथीको दबदबा बढ्यो, यमनका रणनीतिक पहाड कब्जा गर्ने प्रयास तीव्र

   २०८३ आश्विन ६, मंगलवार  

वासिङ्टन— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा हुथीविरुद्ध प्रस्तावित हवाई आक्रमण रोक्न निर्देशन दिएपछि यमनमा इरान समर्थित हुथी समूहले आफ्नो सैन्य गतिविधि थप तीव्र बनाएको छ । हुथी लडाकुहरूले लाल सागरको तटीय क्षेत्रलाई साउदी समर्थित सरकारको नियन्त्रणमा रहेका दक्षिणी भूभागबाट अलग गर्ने रणनीतिअन्तर्गत रणनीतिक उच्च भूभाग कब्जा गर्ने प्रयास अघि बढाएका छन् ।

‘द न्युयोर्क टाइम्स’का अनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आग्रहपछि अमेरिकी प्रशासनले आइतबार हुथीमाथि हवाई आक्रमणको तयारी गरेको थियो । अमेरिकी सेनाले विमानमा बम लोड गरिरहेका बेला ट्रम्पले अन्तिम क्षणमा आक्रमण रोक्न आदेश दिएको रिपोर्टमा उल्लेख छ । यद्यपि उक्त विवरणको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यस विषयमा सोधिएका प्रश्न ह्वाइट हाउसतर्फ पठाएको छ भने ह्वाइट हाउसले तत्काल प्रतिक्रिया दिएको छैन ।

यसैबीच, यमनको साउदी समर्थित तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका राष्ट्रपति रशिद अल–अलिमीले आइतबार ट्रम्पसँग फोनवार्ता गरी अमेरिकी सैन्य सहयोग मागेको चार स्रोतले रोयटर्सलाई बताएका छन् । स्रोतहरूका अनुसार ट्रम्पले प्रत्यक्ष सैन्य सहयोगको प्रतिबद्धता भने जनाएका थिएनन् ।

रणनीतिक पहाडमा केन्द्रित हुथीको अभियान

सन् २०१४ देखि यमनको राजधानी सानामाथि नियन्त्रण कायम राख्दै आएको हुथी समूहले पछिल्लो समय लाल सागर आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको छ । सरकारी सेनालाई पछि हटाउँदै हुथीले तटीय क्षेत्रतर्फ दबदबा बढाएपछि अहिले रणनीतिक उच्च भूभागतर्फ ध्यान केन्द्रित गरेको बताइएको छ ।

यमनी सेनाका स्रोत अनुसार हुथीहरूले ताइज र लहिज प्रान्तमा पर्ने कहबुब पर्वत क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेका छन् । यो क्षेत्र लाल सागरको तटीय भूभाग र सरकारको नियन्त्रणमा रहेको दक्षिणी यमनबीचको रणनीतिक सम्पर्कमा महत्वपूर्ण मानिन्छ ।

अल–वाजियाह पहाडी क्षेत्रको बाहिरी भागदेखि बाब अल–मन्देबनजिकैको रास अल–आरा आसपास पछिल्लो समय मुख्य भिडन्त भइरहेको स्रोतहरूले बताएका छन् ।

यमनी राजनीतिक विश्लेषक तथा पत्रकार मोहम्मद अल–काधीका अनुसार बाब अल–मन्देब क्षेत्रमा सरकारी सेनाको पकड कमजोर भएपछि उनीहरू अहिले मुख्यतः रक्षात्मक अवस्थामा छन् । हुथीले भने हवाई आक्रमणको सामना गरिरहे पनि आफ्नो सैन्य अग्रता कायम राख्ने प्रयास गरिरहेको उनको भनाइ छ।

करिब ७०० जनाको मृत्यु

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो चरणको संघर्षमा करिब ७०० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । करिब १ लाख ३० हजार यमनी आन्तरिक रूपमा विस्थापित भएका छन् । थप ३ हजारभन्दा बढी मानिस डुंगामार्फत लाल सागर पार गरी अफ्रिका पुगेका छन् ।

यसैबीच, शनिबार पहिलोपटक साउदी राजधानी रियाद आसपास आक्रमण भएको देखिएको थियो। विमानस्थलनजिक विस्फोटको आवाज र धुवाँ देखिएको थियो। हुथीहरूले रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरे पनि साउदी पक्षले घटनाबारे तत्काल प्रतिक्रिया दिएको थिएन।

तेल आपूर्तिमा बढ्दो जोखिम

यमनको संघर्षले साउदी अरबको तेल निर्यात मार्गमा समेत दबाब बढाएको छ । हुथीको लाल सागर क्षेत्रमा बढ्दो प्रभावले साउदी अरबले वैकल्पिक रूपमा प्रयोग गर्दै आएको समुद्री मार्गमा जोखिम बढेको छ ।

स्याटेलाइट तथ्यांकअनुसार होर्मुज हुँदै साउदी तेल निर्यात पछिल्ला दिनमा दैनिक करिब २९ लाख ब्यारेल पुगेको छ । अगस्टमा यस्तो निर्यात दैनिक करिब ७ लाख ब्यारेल रहेको थियो ।

व्यापारीहरूका अनुसार साउदी अरबले यसै महिना र अर्को महिना गरी करिब ६ करोड ब्यारेल तेल बिक्री गरेको छ। तेलको विश्व बजार मूल्य गत साता करिब ११० डलर प्रतिब्यारेल पुगे पनि अहिले १०० डलर आसपास आएको छ । यद्यपि केही प्रशोधित इन्धनको मूल्य भने उच्च नै रहेको छ ।

बेलायतको समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार होर्मुजतर्फ गइरहेको एउटा पानीजहाजमाथि प्रक्षेप्यास्त्र वा अन्य वस्तुबाट आक्रमण भएको थियो । घटनामा चालक दलका केही सदस्य सामान्य घाइते भएका थिए । यसअघि एउटा ग्यास ट्यांकरमाथि पनि आक्रमण भएको जानकारी यूकेएमटीओले दिएको थियो ।

अमेरिका र इरानबीच जुनमा भएको अस्थायी सम्झौता केही सातामै भंग भएपछि मध्यपूर्वको द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयाससमेत कमजोर बनेका छन् । इरानी राष्ट्रपति मसुद पेजेस्कियन मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै