असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह – Nepalboli

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिममा सतर्क रहन आग्रह

   २०८३ आश्विन ५, सोमबार  

काठमाडौँ— आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ । ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावनासमेत औँल्याइएको छ ।

छ प्रदेशमा वर्षाको सम्भावना

मौसम विभागका अनुसार कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ । सो अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’मा परिणत हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभाव बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा देखिन सक्ने अनुमान गरिएको छ ।

बाढी, पहिरो र डुबानको जोखिम

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।

जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न र रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह

प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आग्रह गरेको छ ।

अचानक बाढी आउन सक्ने खोला तथा खहरे आसपासका बस्ती, पहिरोको जोखिम भएका क्षेत्र र नदी तथा खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष चनाखो रहन अनुरोध गरिएको छ ।

प्राधिकरणले मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै