त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन गर्न एसएसपी बस्नेतको नेतृत्वमा समिति – Nepalboli

त्रिपुरेश्वर बस आगजनी घटनाको छानबिन गर्न एसएसपी बस्नेतको नेतृत्वमा समिति

   २०८३ आश्विन ५, सोमबार  

काठमाडौँ— त्रिपुरेश्वर बसस्टपमा सार्वजनिक बसमा भएको आगजनी घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

एसएसपी रमेश बस्नेतको नेतृत्वमा गठन गरिएको समितिलाई घटनाको यथाशीघ्र अनुसन्धान गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापा क्षेत्री, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी र प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ सदस्य छन् ।

ट्राफिकसँग विवादपछि बसमा आगजनी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौरका अनुसार बा ५ ख ४२७४ नम्बरको बसका चालक र ट्राफिक प्रहरीबीच सवारी रोक्ने विषयमा सामान्य भनाभन भएको थियो ।

प्रारम्भिक अनुसन्धानमा ट्राफिक प्रहरीले जथाभावी बस नरोक्न आग्रह गरेपछि भएको विवादका क्रममा चालक दावा लामाले आक्रोशमा आफैं बसमा आगजनी गरेको खुलेको प्रहरीको दाबी छ ।

एआईजी राठौरले सडक तथा जेब्राक्रसमा जथाभावी सवारी रोक्दा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारीअनुसार बसस्टपमा मात्र रोक्न आग्रह गर्ने गरेको बताए । उनले घटनामा गलत बुझाइका कारण विवाद उत्पन्न भएको हुन सक्ने बताएका छन् ।

चालक गम्भीर घाइते, भिडियोको अध्ययन जारी

बसभित्र आगो लगाउने क्रममा चालक दावा लामा गम्भीर घाइते भएका छन् । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीका अनुसार घटनाका बेला त्रिपुरेश्वर क्षेत्रमा खटिएका ट्राफिक प्रहरीसँग सोधपुछ भइरहेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका घटनासम्बन्धी भिडियोहरूको समेत अध्ययन गरिरहेको जनाएको छ । छानबिन समितिको प्रतिवेदनपछि घटनाको विस्तृत तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै